काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ५२ जिल्लामा भएका विभिन्न प्रकारका ६६ वटा विपद्का घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। घटनामा अन्य २० जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार साउन १८ गते बिहान १० बजेदेखि साउन १९ गते बिहान १० बजेसम्म बाढी, पहिरो, सर्पदंश, आगलागी, चट्याङ, अतिवृष्टि तथा वन्यजन्तुको आक्रमणलगायतका घटना भएका हुन्।
प्राधिकरणका अनुसार बाढीका घटनामा दुई जनाको ज्यान गएको छ भने एक जना अझै बेपत्ता छन्। बाढीबाट तीन जना घाइते भएका छन्। त्यस्तै, सर्पदंशबाट ११ जना, आगलागीबाट दुई जना, पहिरोबाट एक जना र वन्यजन्तुको आक्रमणबाट तीन जना घाइते भएका छन्।
विपद्पछि विभिन्न स्थानबाट १०२ जनाको उद्धार गरिएको छ भने उद्धार तथा राहत कार्यमा ३३० जना प्रहरी परिचालन गरिएको प्राधिकरणले जनाएको छ।
यसैबीच, चालु मनसुन अवधिअन्तर्गत वैशाख १ गतेदेखि साउन १९ गतेसम्म देशभर ४ हजार १५९ वटा विपद्का घटना भएका छन्। ती घटनामा १९८ जनाको मृत्यु, चार जना बेपत्ता र १ हजार २४६ जना घाइते भएका छन्।
सो अवधिमा ५ हजार २७० परिवार प्रभावित भएका छन्। प्राधिकरणका अनुसार सबैभन्दा बढी १ हजार ३४ वटा आगलागी, ७४५ वटा सर्पदंश र ७२० वटा पहिरोका घटना दर्ता भएका छन्।