मकवानपुर । मकवानपुरको भीमफेँदी गाउँपालिकामा तरकारी बोकेको ट्रक सडकबाट चिप्लिएर खोलामा खस्दा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार बिहान करिब २:३० बजे वीरगन्जबाट तरकारी बोकेर जाँदै गरेको मधेश प्रदेश ०३–००२ ख ५०९५ नम्बरको ट्रक भीमफेँदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा अनियन्त्रित भई करिब १०० मिटर तल चण्डी खोलामा खसेको हो।
प्रहरीका अनुसार बाक्लो हुस्सु र ओरालो सडकका कारण ट्रक चिप्लिएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
दुर्घटनामा ट्रक चालक राक्सिराङ गाउँपालिका–९ निवासी २३ वर्षीय रञ्जित कार्की घाइते भएका छन्। उनको दाहिने खुट्टा भाँचिनुका साथै शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।
ट्रकमा सवार चालकका काका ३६ वर्षीय अर्जुन कार्की गम्भीर घाइते भएका थिए। उद्धारपछि उपचारका लागि हेटौंडा अस्पताल लगिए पनि बिहान ९:१५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
दुर्घटनाका बेला ट्रकमा चालकसहित दुई जना मात्रै सवार रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।