काठमाडौं । विदेशबाट नेपाल फर्किने क्रममा अपरिचित व्यक्ति वा दलालको प्रलोभनमा परी सुन, बहुमूल्य धातु वा अन्य सामान बोकेर नल्याउन नेपाल प्रहरीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विशेष आग्रह गरेको छ।
पछिल्लो समय दुबई, कतारलगायत विभिन्न मुलुकबाट फर्किने नेपालीलाई आर्थिक प्रलोभन देखाएर सुन तस्करीमा प्रयोग गर्ने प्रयास बढेकाले यात्रुलाई सचेत रहन सुरक्षा कार्यालयले अनुरोध गरेको हो। कार्यालयले कानुनविपरीत सुन वा अन्य बहुमूल्य वस्तु ल्याउने कार्यमा संलग्न भए कानुनी कारबाहीमा पर्न सक्ने चेतावनी दिएको छ। अपरिचित व्यक्तिको आग्रहमा कुनै पनि सामान आफ्नो नाममा बोकेर नल्याउन तथा यस्ता गतिविधिबाट टाढा रहन पनि आग्रह गरिएको छ।
यस्तै, आफूले ल्याउने सुन, बहुमूल्य धातु तथा अन्य सामानको वास्तविक विवरण भन्सारमा अनिवार्य रूपमा घोषणा गर्न, सबै आवश्यक कागजात सुरक्षित राख्न र कानुनी प्रक्रिया पालना गर्न सुरक्षा कार्यालयले अनुरोध गरेको छ।विमानस्थलमा कुनै शंकास्पद गतिविधि, प्रलोभन वा अवैध कारोबारसम्बन्धी जानकारी प्राप्त भएमा तत्काल सुरक्षा निकायलाई खबर गर्न पनि कार्यालयले आग्रह गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विदेशबाट फर्किने सबै नेपालीलाई सुरक्षित, सचेत र जिम्मेवार भएर यात्रा गर्न तथा सुन तस्करी वा अन्य अवैध गतिविधिमा संलग्न नहुन अपिल गरेको छ।