बाजुरा । बाजुराको प्रसिद्ध पर्यटकीय स्थल खप्तड छेडेदह गाउँपालिकामा अवस्थित छेडेदह तालमा एक महिला मृत अवस्थामा भेटिएकी छन्। खप्तड छेडेदह गाउँपालिका–७ बस्ने माने कठायतकी ६२ वर्षीया श्रीमती धरु देवी कठायत मृत फेला परेकी हुन्।
प्रहरीका अनुसार मृतक कठायत गत साउन १७ गते घर परिवारलाई कुनै जानकारी नदिई बाहिर निस्किएकी थिइन्। त्यसपछि निरन्तर सम्पर्कविहीन रहेकी उनको शव साउन १९ गते दिउँसो करिब २ः३० बजे छेडेदह तालमा तैरिरहेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रवक्ता नरेश बहादुर शाहीले जानकारी दिए।
घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी डोगडीबाट प्रहरी सहायक निरीक्षक धर्मानन्द पन्तको कमाण्डमा ५ जनाको प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो।
घटनाको गम्भीरतालाई ध्यानमा राख्दै थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी निरीक्षक गगन सिंह भाटको कमाण्डमा ७ जनाको टोली घटनास्थलतर्फ खटाइएको छ। घटनाको यथार्थ कारण पत्ता लगाउन प्रहरीले आवश्यक छानबिन र अनुसन्धान अघि बढाएको छ।
छेडेदह ताल बाजुराको प्रमुख पर्यटकीय गन्तव्यहरूमध्ये एक मानिन्छ। सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तड नजिकै रहेको र बझाङ–बाजुरा जोड्ने मुख्य सडक छेउमै अवस्थित भएकाले बर्खायाममा यहाँ आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो उपस्थिति रहने गर्छ।