काठमाडौँ । सुनसरीको देवानगञ्ज घटनामा घाइते भई उपचाररत अवस्थामा मृत्यु भएका रविन्द्र मेहताका परिवारसँग गृहमन्त्री सुधन गुरुङले वार्ता थालेका छन्।
महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मंगलबार साँझ गृहमन्त्री गुरुङ र मेहताका परिवारबीच भेटवार्ता सुरु भएको हो। वार्तामा घटनापछिको अवस्था, परिवारका माग तथा सरकारको आगामी कदमबारे छलफल भइरहेको जनाइएको छ। साउन १० गते राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएका २२ वर्षीय मेहताको उपचारका क्रममा मंगलबार शिक्षण अस्पतालमा निधन भएको थियो।
यसअघि गृहमन्त्री गुरुङले हिन्दु र मुस्लिम समुदायका प्रतिनिधिसँग छुट्टाछुट्टै छलफल गरेका थिए। गृहमन्त्रालयमा भएको ती भेटमा पछिल्ला दिनमा विभिन्न स्थानमा देखिएका विवाद, शान्ति–सुरक्षा अवस्था र सामुदायिक सद्भाव कायम गर्ने विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। सरकारले देवानगञ्ज घटनापछि उत्पन्न परिस्थितिलाई संवेदनशील रूपमा हेर्दै सम्बन्धित पक्षसँग संवादलाई निरन्तरता दिएको जनाएको छ।