काठमाडौं । बजारमा देखिएको एलपी ग्यासको आपूर्ति व्यवस्थापन र अभावको समस्या समाधानबारे सरकार र ग्यास व्यवसायीबीच छलफल भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा भएको बैठकमा ग्यास आपूर्तिको वर्तमान अवस्था, समस्या र समाधानका उपायबारे समीक्षा गरिएको हो।
छलफलमा सहभागी व्यवसायीहरूले बजारमा प्रचार भएजस्तो ग्यासको वास्तविक अभाव नरहेको बताएका छन्। उनीहरूका अनुसार पश्चिम एसियामा उत्पन्न द्वन्द्वका कारण केही समय ७.१ किलोग्रामको सिलिन्डर वितरण गरिएको थियो। अहिले पुनः १४.२ किलोग्रामको पूर्ण सिलिन्डर वितरण सुरु भएपछि उपभोक्ताको माग एकाएक बढ्दा आपूर्तिमा दबाब परेको हो। व्यवसायीहरूले अहिले विगतको तुलनामा बढी परिमाणमा एलपी ग्यास आयात भइरहेको दाबी गर्दै उपभोक्ताले आवश्यकभन्दा बढी ग्यास सञ्चित गर्न थालेकाले बजारमा अभावको अवस्था देखिएको बताएका छन्।
बैठकले ग्यास आपूर्तिमा समस्या देखिएका जिल्लामा वितरण प्रणालीलाई थप प्रभावकारी, नियमित र सहज बनाउन सम्बन्धित निकायबीच समन्वय बढाउने निर्णय गरेको छ। साथै आगामी दशैं–तिहारलगायत चाडपर्वमा बढ्ने मागलाई ध्यानमा राख्दै आगामी तीन महिनासम्म प्रत्येक महिना ५० हजार मेट्रिक टनभन्दा बढी एलपी ग्यास आयात गर्ने व्यवस्था मिलाइने निर्णय पनि गरिएको छ। मुख्य सचिव कार्कीले ग्यास आपूर्तिसम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकार सरोकारवाला निकायसँग निरन्तर छलफल र समन्वयमा रहने बताए। बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, गृह मन्त्रालय, नेपाल आयल निगम तथा ग्यास उद्योगीहरूको छाता संगठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।