काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदिश खरेलले सुनसरी र सिरहामा भएको तनावका बेला सरकार, संसद् र सबै राजनीतिक दलले देखाएको एकताका कारण मुलुक सम्भावित ठूलो संकटबाट जोगिएको बताएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालमा राष्ट्रिय संकटका बेला सबै पक्ष एकजुट भएर समाधान खोज्ने परम्परा रहेको उल्लेख गरे। खरेलले सुनसरी–सिरहा घटनामा सरकारले प्रभावकारी रूपमा अवस्था व्यवस्थापन गरेको, सभामुखले आवश्यक निर्देशन दिएको र विपक्षी दलहरूले पनि राजनीतिक स्वार्थभन्दा देश र जनताको हितलाई प्राथमिकतामा राखेर जिम्मेवार भूमिका खेलेको बताए। उनले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न सबै पक्ष सफल भएको भन्दै यस्ता संवेदनशील अवस्थामा आगामी दिनमा पनि यही प्रकारको एकता र सहकार्य आवश्यक रहने धारणा व्यक्त गरे।