विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपका क्रममा प्रहरीको गोली लागेर घाइते भएका अर्का एक युवाको उपचारका क्रममा मृत्यु भएको छ। यससँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ।
मृत्यु हुनेमा देवानगञ्ज–३ का २१ वर्षीय रवीन्द्रकुमार मेहता रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लका अनुसार काठमाडौंस्थित शिक्षण अस्पताल (टिचिङ) मा उपचारका क्रममा मंगलबार बिहान उनको निधन भएको हो।
गत साउन १० गते भएको झडपका क्रममा प्रहरीको गोली लागेर १० जना गम्भीर घाइते भएका थिए। घटनाकै दिन देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने उपचारकै क्रममा देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको विराटनगरस्थित न्युरो अस्पतालमा निधन भएको थियो। रवीन्द्रको मृत्युसँगै घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको हो।
रवीन्द्रको बायाँ तिघ्रामा गोली लागेको थियो। प्रारम्भिक उपचारपछि उनलाई काठमाडौंस्थित शिक्षण अस्पताल लगिएको थियो, जहाँ उपचारका क्रममा चिकित्सकहरूले उनको बायाँ खुट्टा काट्नुपरेको थियो। तर अवस्था सुधार हुन नसकेपछि उनको निधन भएको प्रहरीले जनाएको छ।
घटनामा घाइते भएका देवानगञ्ज–३ का १८ वर्षीय अमित यादवको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनलाई हात र कोखमा गोली लागेको थियो।
त्यस्तै, विराटनगरस्थित न्युरो अस्पतालमा देवानगञ्ज–४ का १८ वर्षीय मिथिलेश मेहता, २२ वर्षीय हरेराम यादव र देवानगञ्ज–३ का १८ वर्षीय अमलेश मेहता उपचाररत छन्। मिथिलेशको पेटमा गोली लागेर आन्द्रा बाहिर निस्किएपछि शल्यक्रिया गरिएको छ भने हरेरामको तिघ्रा र अमलेशको पिठ्युँमा गोली लागेको छ।
विराट नर्सिङ होममा देवानगञ्ज–३ का २५ वर्षीय सुनील मेहता, देवानगञ्ज–४ का १८ वर्षीय अमितकुमार यादव तथा २६ वर्षीय अर्का सुनील मेहता उपचाररत रहेका छन्। उनीहरू क्रमशः खुट्टा, कम्मर र कुहिनामा गोली लागेर घाइते भएका थिए।
उक्त घटनापछि सरकार र आन्दोलनरत पक्षबीच सातबुँदे सहमति भएको थियो। त्यसपछि यसअघि मृत्यु भएका दुई जनाको शव घटनास्थल नजिकै अन्त्येष्टि गरिएको थियो। यही घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर गणेश यादवको पनि मृत्यु भएको थियो।