काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ लिपिङमा मंगलबार बिहान पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक केशव केसीका अनुसार बिहान करिब ९:३० बजे ठूलो पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको हो।
सडक अवरुद्ध भएसँगै चीनसँग जोडिएको प्रमुख व्यापारिक नाका तातोपानी हुँदै हुने सवारी आवागमन र मालवाहक ढुवानी पूर्ण रूपमा ठप्प भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पहिरो खसेको स्थानमा सडकसमेत भासिएकाले तत्काल पहिरो हटाएर यातायात सञ्चालन गर्न कठिनाइ भएको छ। माथिबाट पहिरो पन्छाउने अवस्था नरहेको र सडकको सुरक्षा सुनिश्चित गर्न पहिले संरक्षण पर्खाल (वाल) निर्माण गर्नुपर्ने भएकाले सडक सञ्चालनमा समय लाग्न सक्ने जनाइएको छ।
सम्बन्धित निकायले सडक खुलाउने तयारी गरिरहेको भए पनि पहिरोको जोखिम कायमै रहेकाले यात्रु तथा चालकलाई वैकल्पिक व्यवस्था अपनाउन आग्रह गरिएको छ।