महोत्तरीको गौशाला नगरपालिकामा मंगलबार बिहान विद्यालय बस दुर्घटना हुँदा पाँच विद्यार्थीसहित ६ जना घाइते भएका छन्।
बिहान करिब ७:३० बजे गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकमा मोर्डन सारदा शिक्षा सदन बोर्डिङ स्कुलको बा १ क ६१२९ नम्बरको बस इमली बजारबाट गौशालातर्फ जाँदै गर्दा अनियन्त्रित भई सडकबाट उखुबारीमा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा बस चालक गौशाला नगरपालिका–५ निवासी करिब ४० वर्षीय विजय भुजेल घाइते भएका छन्। साथै गौशाला–११ का महेश्वर महतोका १० वर्षीय प्रतिक कुशवाहा, ८ वर्षीय प्रज्वल कुशवाहा र १३ वर्षीया प्रिति कुशवाहा, गौशाला–९ का शेख जावेदका १३ वर्षीय छोरा उमर शेख तथा गौशाला–११ का रमेश कुमार महतोका ६ वर्षीय छोरा आदर्श कुशवाहा घाइते भएका छन्।
प्रहरी चौकी कान्तिबजारबाट खटिएको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि गौशालास्थित बीके अस्पताल तथा अन्य स्थानीय स्वास्थ्य संस्थामा पठाएको महोत्तरी प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।