काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक अवस्थित रहेको छ। यसको प्रभावले हाल देशभर साधारणतया बदली रहेको छ। कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली तथा तराई भूभागका केही स्थान र पहाडी भूभागका धेरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राति पनि देशभर साधारणतया बदली नै रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभाग र मधेस प्रदेशका धेरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा पनि वर्षाको आकलन गरिएको छ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।