काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले राहदानी ऐन अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा परराष्ट्र मन्त्रालयका सह-सचिव पुष्पराज भट्टराईलाई पक्राउ गरेको छ। खोटाङको रावाबेसी गाउँपालिका-३ घर भई हाल काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-९ बस्दै आएका ५६ वर्षीय भट्टराईलाई सोमबार काठमाडौँ महानगरपालिकास्थित त्रिपुरेश्वरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। भट्टराई हाल परराष्ट्र मन्त्रालयको श्रम आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखा, सिंहदरबारमा सह-सचिव पदमा कार्यरत थिए।
काठमाडौँ स्थित जर्मन दूतावासमा जर्मनी जाने भिसा प्रयोजनका लागि यात्रा अनुमति पत्रसहित उपस्थित भएका व्यक्तिहरूको राष्ट्रियतामाथि शङ्का लागेपछि दूतावासले अनुसन्धानका लागि ५ थान यात्रा अनुमति पत्रसहित सीआईबीमा पत्राचार गरेको थियो। उक्त शङ्कास्पद यात्रा अनुमति पत्र जारी गर्ने कार्यमा कन्सुलर शाखामा तत्कालीन समयमा शाखा अधिकृतका रूपमा कार्यरत भट्टराईको प्रत्यक्ष संलग्नता पुष्टि भएको अनुसन्धानबाट खुलेको हो।
उक्त कसूरका सम्बन्धमा सीआईबीले विस्तृत अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकील कार्यालय, काठमाडौँमार्फत गत साउन ११ गते काठमाडौँ जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको थियो। मुद्दामा प्रतिवादी कायम गरिएका भट्टराईलाई सोमबार पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि जिल्ला सरकारी वकील कार्यालय, माइतीघरमार्फत काठमाडौँ जिल्ला अदालत, बबरमहलमा पेस गरिएको ब्यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपेस शमशेर ज।ब।रा।ले जानकारी दिएका छन्।