काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले मलेसियामा श्रमिक पठाउने प्रक्रियामा मन्त्रालयकै संलग्नतामा निश्चित वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) लाई फाइदा पुग्ने गरी ‘सिन्डिकेट’ सञ्चालन गरिएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सोमबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले यस्ता आरोप तथ्यमा आधारित नरहेको स्पष्ट पारेको छ। मन्त्रालयले वैदेशिक रोजगारीलाई स्वच्छ, पारदर्शी, प्रतिस्पर्धी र श्रमिकमैत्री बनाउन आफू प्रतिबद्ध रहेको उल्लेख गरेको छ।
विज्ञप्तिमा कुनै पनि व्यवसायीलाई विशेष सुविधा दिने वा प्रतिस्पर्धा सीमित गर्ने नीति मन्त्रालयको नरहेको उल्लेख गर्दै विद्यमान नीति, कानुन र प्रक्रियामा आवश्यक सुधार गर्दै सूचना प्रविधिको अधिकतम प्रयोगमार्फत सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने काम भइरहेको जनाइएको छ।
मन्त्रालयले मलेसियासहित कुनै पनि गन्तव्य मुलुकबाट सिन्डिकेटसम्बन्धी आधिकारिक जानकारी प्राप्त नभएको पनि स्पष्ट पारेको छ। साथै अपुष्ट सूचना र अफवाह नफैलाउन सञ्चारमाध्यम तथा सरोकारवालासँग आग्रह गरेको छ।
विदेशी रोजगारीलाई थप व्यवस्थित, नैतिक र प्रतिस्पर्धी बनाउन गन्तव्य मुलुकसँग कूटनीतिक पहल जारी रहेको उल्लेख गर्दै मन्त्रालयले यस अभियानमा सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेको जनाएको छ।
