प्यूठान । एक महिनाकी छोरीको उपचार गराउन भन्दै घरबाट निस्किएकी एक महिलाको शव झिमरुक नदीमा फेला परेको छ।
मृतक झिमरुक गाउँपालिका–२ गडेरपानीकी २६ वर्षीया बेदना थापा रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ। उनको शव सोमबार झिमरुक गाउँपालिका–५ ढाडस्थित झिमरुक नदीबाट फेला परेको हो।
प्रहरीका अनुसार सोमबार बिहान करिब १०:३० बजे थापाले ढाडका एक स्थानीयलाई आफ्नो शिशु केहीबेर हेरिदिन आग्रह गरेकी थिइन्। त्यसपछि उनी सम्पर्कविहीन भएपछि खोजी सुरु गरिएको थियो।
इलाका प्रहरी कार्यालय ओखरकोटबाट प्रहरी निरीक्षक गणेश ज्ञवालीको नेतृत्वमा खटिएको टोलीले खोजतलासका क्रममा नदीबाट उनको शव फेला पारेको हो।
पारिवारिक स्रोतका अनुसार थापा एक महिनाकी छोरीको उपचारका लागि बुटवल जाने भन्दै घरबाट निस्किएकी थिइन्।
घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। शव परीक्षणसहित घटनाबारे थप अनुसन्धान भइरहेको छ।