काठमाडौं । लगातारको वर्षापछि मुग्लिन–नारायणगढ सडकखण्डमा फेरि पहिरो खस्दा दुवैतर्फको सवारी आवागमन अवरुद्ध भएको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सोमबार दिउँसो करिब २:१० बजे मुग्लिन बजार नजिक पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको हो।
पहिरो पन्छाउन एउटा हेभी उपकरण तत्काल परिचालन गरिएको छ भने थप दुई वटा उपकरण घटनास्थलतर्फ पठाइएको कार्यालयले जनाएको छ। प्रारम्भिक अनुमानअनुसार सडक खुलाउन करिब ४५ मिनेट लाग्न सक्ने बताइएको छ।
यसअघि पनि सोमबार बिहान यही सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेको थियो। त्यसबेला एकतर्फी रूपमा सवारी सञ्चालन गरिएपछि पहिरो हटाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको थियो।
तर, दिउँसो पुनः पहिरो खसेपछि सडक फेरि अवरुद्ध भएको हो। सडक डिभिजन कार्यालयले वर्षायाममा यस मार्गबाट यात्रा गर्ने सवारीचालकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।