काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी राजमार्गमा बस र कार ठोक्किँदा कार सुनकोशी नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्।
प्रारम्भिक जानकारीअनुसार बेपत्ता हुनेमा कार चालक, सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ निवासी गणेश थापा र कारमा सवार एक जना हेल्पर रहेका छन्। चालक र हेल्परको परिचय भने अझै खुलेको छैन।
प्रहरीका अनुसार काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको हेमबहादुर तामाङले चलाएको बा.प्र. ०८–००१ ख ०१४४ नम्बरको बसले खोटाङबाट खुर्कोटतर्फ आउँदै गरेको कारलाई ठक्कर दिएको थियो। ठक्करको प्रभावले कार सडकबाट सुनकोशी नदीमा खसेको हो।
दुर्घटनामा परेको कारको नम्बर अझै खुलेको छैन। नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धार टोली घटनास्थलमा खोजी तथा उद्धार कार्यमा जुटिरहेको छ। दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।