काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुर नजिक सुनकोशी नदीमा कार खसेको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बसको ठक्करपछि कार नदीमा खसेको प्रारम्भिक सूचना प्राप्त भएको हो। घटनाबारे जानकारी पाएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली उद्धार तथा खोजीका लागि घटनास्थलतर्फ परिचालन गरिएको छ।
प्रहरीका अनुसार कारमा कति जना सवार थिए भन्ने विषय अझै यकिन हुन सकेको छैन। नदीमा खसेको कारको नम्बर तथा ठक्कर दिएको भनिएको बसको विवरण पनि खुल्न बाँकी छ।
घटनाको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। उद्धार टोली घटनास्थल पुगेपछि क्षतिको वास्तविक अवस्था र मानवीय क्षतिबारे थप जानकारी आउने अपेक्षा गरिएको छ।