सप्तरीको राजविराज र बोदेबर्साइन नगरपालिका क्षेत्रमा लागू गरिएको निषेधाज्ञा सोमबार बिहान १० बजेदेखि पूर्ण रूपमा हटाइएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै कर्फ्यु र त्यसपछि निषेधाज्ञा जारी गरिएको थियो।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जिल्लाको सुरक्षा अवस्था सामान्य बन्दै गएपछि निषेधाज्ञा हटाउने निर्णय गरिएको जानकारी दिए।
यसअघि आइतबार जिल्ला प्रशासनको समन्वयमा राजविराजसहित विभिन्न स्थानमा शान्ति तथा सद्भाव र्याली आयोजना गरिएको थियो। र्यालीमा विभिन्न समुदाय, राजनीतिक दल, नागरिक समाज तथा सर्वसाधारणको सहभागिता रहेको थियो।
प्रशासनले अहिले जिल्लाको शान्ति–सुरक्षा अवस्था सामान्य रहेको जनाउँदै सबैलाई धार्मिक सहिष्णुता, आपसी सद्भाव र सामाजिक एकता कायम राख्न आग्रह गरेको छ। साथै सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने वा सामाजिक सद्भावमा खलल पुग्ने गतिविधिबाट टाढा रहन पनि अनुरोध गरेको छ।
