विराटनगरस्थित उद्योगी तथा नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशका उपाध्यक्ष प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीले गरेको खानतलासीमा कुनै पनि शंकास्पद सामग्री फेला नपरेको जनाएको छ।
अवैध नगद तथा हुन्डी कारोबारसँग सम्बन्धित सूचना प्राप्त भएपछि सोमबार बिहान करिब साढे ४ बजेदेखि प्रहरी टोलीले घर र कार्यालयमा विस्तृत खोजतलास गरेको थियो। करिब पाँच घण्टा चलेको खानतलासीपछि टोली खाली हात फर्किएको हो।
मोरङ प्रहरीका अनुसार विशेष सूचनाका आधारमा छापा मारिए पनि खोजतलासका क्रममा अवैध नगद वा अन्य आपत्तिजनक वस्तु फेला परेन।
देवेनारा समूहका प्रतिनिधि वेनीगोपाल मुन्दडाले पनि प्रहरीले कानुनी प्रक्रिया पूरा गर्दै पुर्जीका आधारमा खानतलासी गरेको र परिवारले पूर्ण सहयोग गरेको बताए। उनका अनुसार घरदेखि कार्यालयसम्म सबै स्थानमा खोजी गर्दा पनि केही नभेटिएपछि प्रहरी टोली फर्किएको हो।
यस घटनापछि प्रहरीले अनुसन्धान भने सूचनाको स्रोत र प्रकृतिबारे आवश्यक प्रक्रिया अनुसार अघि बढाउने जनाएको छ।