सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–४ गणेशचोकस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा हरिपुर नगरपालिका–५ लक्षीपुर निवासी पञ्चलाल चौधरी रहेका छन्। उनी सोमबार बिहान कामका लागि साइकलमा हरिपुरबाट हरिवनतर्फ जाँदै गर्दा पछाडिबाट आएको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए।
दुर्घटनापछि मधेश प्रदेश ०३–००२ ख ११९४ नम्बरको ट्रक घटनास्थलबाट पश्चिमतर्फ फरार भएको थियो। प्रहरीको खोजतलासपछि इलाका प्रहरी कार्यालय कर्मैयाको सहयोगमा बिहान करिब ७:३० बजे ट्रकसहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्ने चालक बाराको कोल्बी नगरपालिका–१६ निवासी २५ वर्षीय नरबहादुर श्रेष्ठ रहेका छन्। उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय हरिवनको हिरासतमा राखिएको छ।
दुर्घटनामा संलग्न साइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।