काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ।
नेपाल प्रहरीले सोमबार बिहान सार्वजनिक गरेको विवरणअनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही स्थानमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।
ललितपुरको बागमती गाउँपालिका–३ पाङदुर क्षेत्रमा सोमबार बिहान करिब ५:५० बजे पहिरो खसेपछि कान्तिलोकपथ पूर्ण रूपमा बन्द भएको छ। त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारी क्षेत्रमा पहिरो खस्दा अरनिको राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
यता भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रमा बाढीका कारण मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ। इलाम नगरपालिका–९ राजदुवाली र तेह्रथुमको लालीगुराँस नगरपालिका–९ काडे क्षेत्रमा पहिरो खसेपछि मेची राजमार्ग र मध्यपहाडी लोकमार्गका सम्बन्धित खण्डमा पनि एकतर्फी सवारी सञ्चालन भइरहेको छ।
यसैबीच, जोखिमलाई मध्यनजर गर्दै केही सडकमा रातिको समयमा सवारी सञ्चालनमा लगाइएको प्रतिबन्ध यथावत् राखिएको छ। वीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी सडकखण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी चलाउन रोक लगाइएको छ भने बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म सडकको अवस्थाअनुसार सञ्चालन गरिँदै आएको छ।
त्यसैगरी, हेटौंडा–ठिंगन–बागमती–ललितपुर सडकखण्ड (कान्तिलोकपथ) मा पनि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म रातिको समयमा सवारी सञ्चालनमा रोक यथावत् रहेको प्रहरीले जनाएको छ।
प्रहरीले वर्षायाममा पहिरो, बाढी र सडक कटानको जोखिम उच्च रहेकाले यात्रा अघि सम्बन्धित निकायबाट सडकको अवस्था बुझ्न तथा आवश्यक सतर्कता अपनाउन सबै यात्रुलाई आग्रह गरेको छ।