विराटनगर । मोरङ प्रहरीले विराटनगरस्थित प्रतिष्ठित औद्योगिक समूह देवेनरा ग्रुपसँग सम्बन्धित आवासमा छापा मारेको छ।
प्रहरी टोलीले सोमबार बिहान करिब ५ बजेदेखि विराटनगर महानगरपालिका–७ मा रहेको आवासमा खोजतलास सुरु गरेको हो। समाचार तयार पार्दासम्म प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ।
देवेनरा ग्रुप चार दाजुभाइ देवकिसन मुन्दडा, वेणुगोपाल मुन्दडा, नरेन्द्र मुन्दडा र राजेन्द्र मुन्दडा को संयुक्त लगानीमा सञ्चालन हुँदै आएको औद्योगिक समूह हो।
समूहले खाद्य तेल, साबुन, अगरबत्ती लगायतका विभिन्न उपभोग्य वस्तु उत्पादन गर्दै आएको छ। साथै, नेपालकै ठूलो चाँदी प्रशोधन उद्योग सञ्चालन गर्ने व्यवसायिक समूहका रूपमा पनि देवेनरा ग्रुप परिचित छ।
यस समूहसँग आबद्ध प्रकाश मुन्दडा नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशका वरिष्ठ उपाध्यक्षसमेत हुन्।
प्रहरीले छापामारीको कारण र अनुसन्धानको विषयबारे भने हालसम्म औपचारिक विवरण सार्वजनिक गरेको छैन।