काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले सोमबार पनि अधिकांश क्षेत्रमा वर्षा जारी रहने भएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालका तराई क्षेत्र नजिक रहेकाले वर्षाको प्रभाव व्यापक बनेको हो।
सोमबार बिहान सातै प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। पछिल्लो एक घण्टामा चितवनको कालीखोलामा ३३.२ मिलिमिटर, सर्लाहीको मनुसमरामा २२.८ मिलिमिटर, नवलपुरको कोटागाउँमा १४.८ मिलिमिटर, काभ्रेको रोशीमा १३ मिलिमिटर, चितवनको देवघाटमा १२ मिलिमिटर तथा धनुषाको हरदीनाथमा ९.२ मिलिमिटर वर्षा मापन गरिएको छ।
पछिल्लो २४ घण्टामा बर्दियाको तारातालमा १३३.४ मिलिमिटर वर्षा भएको छ, जुन ‘धेरै भारी वर्षा’को श्रेणीमा पर्छ। त्यस्तै बर्दियाकै कतर्नियामा ९०.६ मिलिमिटर, चितवनको कालीखोलामा ७८.६ मिलिमिटर, कास्कीको मालेपाटनमा ६८.४ मिलिमिटर र भक्तपुरको टौथलीमा ६७.२ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। अन्य धेरै स्थानमा पनि मध्यमदेखि भारी वर्षा भएको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार सोमबार दिउँसो हिमाली क्षेत्रका केही स्थान र पहाडी भूभागका अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। बागमती र गण्डकीका तराई क्षेत्रका धेरै स्थान तथा मधेश, कोशी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ भने गण्डकी र बागमतीका केही पहाडी क्षेत्रमा धेरै भारी वर्षासमेत हुन सक्ने चेतावनी दिइएको छ।
रातिको समयमा पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा वर्षा हुने पूर्वानुमान छ। कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्र, साथै लुम्बिनीका केही स्थानमा राति भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले नदी–नाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र र शहरी डुबान हुन सक्ने स्थानमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।