काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यास सहज रूपमा नपाएको गुनासो बढ्दै गएपछि उपभोक्तामा अभावको चिन्ता बढेको छ।
काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा ग्यास डिलर र डिपोमा बिहानैदेखि उपभोक्ताको भीड लाग्ने, केही स्थानमा लामो लाइन बस्नुपर्ने तथा खाली सिलिन्डर बोकेर फर्किनुपर्ने अवस्था देखिएको छ। यद्यपि नेपाल आयल निगमले भने बजारमा ग्यासको वास्तविक अभाव नभएको दाबी गर्दै हल्लाका आधारमा आवश्यकताभन्दा बढी ग्यास खरिद नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
निगमका अनुसार भारतबाट एलपी ग्यासको आयात नियमित रूपमा भइरहेको छ र दैनिक मागअनुसार उद्योगहरूमा ग्यास आपूर्ति पनि भइरहेको छ। पछिल्लो समय १४.२ केजी क्षमताका पूर्ण भरिएका सिलिन्डर वितरण सुरु भएपछि लामो समयदेखि खाली रहेका सिलिन्डर एकैपटक रिफिल गराउन उपभोक्ताको चाप बढेको छ। यही कारण कतिपय डिलरमा ग्यास पुगेको केही समयमै सकिने अवस्था बनेको निगमको भनाइ छ।
निगमले बजारमा कृत्रिम अभाव सिर्जना नगर्न र वितरण प्रणालीलाई व्यवस्थित बनाउन सबै ग्यास उद्योग तथा वितरकलाई निर्देशन दिएको जनाएको छ। विशेषगरी घरायसी उपभोक्तालाई प्राथमिकता दिन, बिक्रीको अभिलेख व्यवस्थित राख्न तथा ग्यासको वितरण पारदर्शी बनाउन पनि आग्रह गरिएको छ। उपत्यकामा बढ्दो चापलाई मध्यनजर गर्दै टेकुस्थित निगम परिसरबाट समेत विभिन्न ब्रान्डका ग्यास सिलिन्डर वितरणको व्यवस्था मिलाइएको जनाएको छ।
यता उपभोक्ताले भने निगमको दाबी र बजारको वास्तविक अवस्था फरक रहेको गुनासो गरिरहेका छन्। धेरै स्थानमा ग्यास पाउन कठिन भएपछि मानिसहरू बिहानैदेखि लाइन बस्न बाध्य छन्। एउटै सिलिन्डर भएका परिवारले सबैभन्दा बढी सास्ती खेपिरहेका छन्, किनकि रिफिल नपाउँदा दैनिक खाना पकाउनसमेत समस्या परेको उनीहरूको भनाइ छ।
निगमले भने बजारमा ग्यासको समग्र आपूर्तिमा कुनै अवरोध नरहेको दोहोर्याउँदै अफवाहका आधारमा ग्यास सञ्चय नगर्न र आवश्यक परेमा मात्र खरिद गर्न आग्रह गरेको छ। निगमका अनुसार अनावश्यक रूपमा धेरै सिलिन्डर थुपार्ने प्रवृत्तिले वास्तविक उपभोक्तालाई झन् समस्या पर्ने भएकाले संयम अपनाउन आवश्यक छ।