काठमाडौँ । देशभरमा वैशाख १ गतेदेखि साउन १७ गतेसम्मको अवधिमा देशभर कुल ४ हजार ५३ वटा विपद्का घटना घटेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो अवधिमा विभिन्न विपद्का कारण १९६ जनाले ज्यान गुमाएका छन् भने १ हजार २१८ जना घाइते भएका छन्। विपद्का कारण चार जना अझै बेपत्ता रहेका छन्।
प्राधिकरणको तथ्याङ्कअनुसार यस अवधिमा सबैभन्दा बढी आगलागीका १ हजार २४ वटा घटना भएका छन्। यस्तै सर्पदंशका ७१६, पहिरोका ६८५, हुरीबतासका ४८०, चट्याङका २३१, भारी वर्षाका २२७ र बाढीका २०० वटा घटना दर्ता भएका छन्। साथै जनावर आक्रमणका २२५, डढेलोका १९१, लेक लाग्ने ५७, असिना र भूकम्पका चार(चार तथा डुंगा पल्टिने र विस्फोटका समान एक(एक वटा घटना घटेका छन्। यी विपद्का कारण देशभरका ५ हजार १८८ घरपरिवार प्रत्यक्ष प्रभावित भएका छन्।
यसैबिच, पछिल्लो २४ घण्टामा मात्रै देशभर कुल ३४ वटा विपद्का घटना घटेका छन्, जसबाट २५ जिल्ला प्रभावित बनेका छन्। सो अवधिमा विपद्का कारण एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। विपद्का कारण देशका दुई प्रमुख सडक खण्ड अवरुद्ध हुन पुगेका छन् भने अनुमानित २७ लाख २५ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको छ। उद्धार तथा राहत कार्यका लागि २७१ जना प्रहरी परिचालन गरिएको प्राधिकरणले जनाएको छ।
मनसुन सक्रिय रहेको र वर्षाको समयमा अकस्मात बाढीपहिरो आउने तथा सर्पदंशको जोखिम समेत उच्च रहने भएकाले प्राधिकरणले सर्वसाधारणलाई विशेष पूर्वसावधानी र सतर्कता अपनाउन आग्रह गरेको छ।