काठमाडौं । सुनसरीमा घटेको घटनाका कारण तराई–मधेश क्षेत्रमा उत्पन्न तनाव नियन्त्रण गर्न र सम्भावित अन्य अप्रिय घटनाहरू रोक्नका लागि २ हजारभन्दा बढी अतिरिक्त सुरक्षाकर्मी खटाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रधान कार्यालयले उच्च सतर्कता अपनाउँदै विभिन्न गण, तालिम केन्द्र, पहाडी जिल्ला तथा हेडक्वार्टरबाट टोलीहरूलाई तराई–मधेशमा परिचालन गरेका हुन्।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेले करिब १ हजारभन्दा बढी प्रहरी जनशक्ति तराई–मधेश केन्द्रित गरिएको जानकारी दिए। स्थिति नियन्त्रणमा लिन र सुरक्षा व्यवस्था चुस्त बनाउन चार जना अतिरिक्त महानिरीक्षक (एआईजी) सहित उच्च अधिकृतहरू स्वयं मैदानमा खटिएका छन्। प्रहरीतर्फ एआईजी सिद्धीविक्रम शाह (बाँके), एआईजी हिमालय कुमार श्रेष्ठ (मधेश प्रदेश), एआईजी उमा प्रसाद चतुर्वेदी (कपिलवस्तु) तथा एआईजी ईश्वर कार्की (कोशी प्रदेश र सुनसरी) तराई झरेका छन्।
यसैगरी डीआईजी दिनेश कुमार आचार्यलाई सिरहा र डीआईजी अबिनारायण काफ्लेलाई सप्तरीमा खटाइएको छ। त्यसैगरी मोरङ, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, महोत्तरी, बारा लगायतका क्षेत्रमा एसएसपी गोपाल चन्द्र भट्टराई, सोमेन्द्र सिंह राठौर, दीप शम्शेर जबरा, नवराज अधिकारी, कृष्ण प्रसाद पंगेनी, होबिन्द्र बोगटी, ज्ञानेन्द्र प्रसाद फुयाँल, भुवनेश्वर तिवारी र अमरेन्द्र बहादुर सिंहलाई खटाइएको छ।
सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी नेत्रबहादुर कार्कीका अनुसार सशस्त्र प्रहरीका तर्फबाट पनि करिब १ हजार थप जनशक्ति परिचालन गरिएको छ। एआईजी गणेश ठाडा मगरसहितको टोली फिल्डमै खटिएर वस्तुस्थितिको निगरानी र शान्ति सुरक्षा कायम गर्ने कार्यमा जुटेको छ।
गृहमन्त्री सुधन गुरुङ आफैं स्थिति अवलोकन र समन्वयका लागि तराईमै रहेका छन्। मोरङ, सुनसरी, सिरहा, धनुषा लगायतका जिल्लाहरूमा विशेष सतर्कता अपनाइएको छ। उच्च अधिकृतहरूलाई स्रोत साधनको प्रभावकारी परिचालन, सुरक्षा कार्ययोजना, सूचना संकलन तथा विश्लेषणको जिम्मेवारी दिइएको छ।
सुरक्षा निकायको तीव्र सतर्कता र उपस्थिति पछि तराईको स्थिति बिस्तारै सामान्य र शान्त बन्दै गएको छ। नेपाल प्रहरीका प्रवक्ता काफ्ले र कोशी प्रदेशका डीआईजी शेखर खनालले अघिल्लो दिनको तुलनामा हालको अवस्था धेरै शान्त र नियन्त्रणमा रहेको जानकारी दिएका छन्।