काठमाडौँ । पाकिस्तानको काराकोरम हिमशृङ्खलामा पर्ने ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका विश्वप्रसिद्ध नेपाली आरोही निर्मल ‘निम्स दाइ’ पुर्जाको शव फेला पारी सुरक्षित रूपमा निकालिएको छ। गत बिहीबार आरोहणका क्रममा गएको भीषण हिमपहिरोमा परी बेपत्ता भएका निर्मल पुर्जा शनिबार मृत भेटिएका थिए। प्रतिकूल मौसमका कारण शनिबार शव निकाल्न नसकिए तापनि आइतबार बिहान शव निकालिएको हो। पाकिस्तानको आरोहणसम्बन्धी अग्रणी संस्था अल्पाइन क्लब अफ पाकिस्तान (एपिसी) लाई उद्धृत गर्दै बिबिसीले यो समाचार प्रकाशित गरेको छ।
एपिसीका अनुसार पुर्जाको शव करिब ५ हजार ७ सय मिटरको उचाइमा फेला परेको थियो। त्यहाँबाट उनको शवलाई आजै जापानी क्याम्पसम्म ल्याउने तयारी भइरहेको छ।
निर्मल पुर्जाको शव नजिकै अरू तीन जनाको शवसमेत फेला परेको बिबिसीले जनाएको छ। हिमपहिरोमा परी मृत्यु भएका कुल १० जनामध्ये उक्त तीन शव को–को हुन् भन्ने विषयमा पहिचान हुन बाँकी रहेको छ।
अत्यन्त कठिन भौगोलिक बनावट, हिमपहिरोको निरन्तर जोखिम र ठाडो भीरका कारण उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको एसिपीले जनाएको छ। मौसम प्रतिकूल रहेका कारण हेलिकप्टर परिचालन गर्न नसकिएपछि पाकिस्तान र नेपालका आठ सदस्यीय संयुक्त उद्धार टोलीले आइतबार बिहान ९ बजेअघि क्याम्प–१ पुगेर शव निकाल्ने प्रयास सफल पारेको हो।
यसअघि हिमपहिरोमा परी बेपत्ता भएका १० जनामध्ये गोरखाका पुरबहादुर गुरुङ ‘युक्ता’ सहित तीन जनाको शव शुक्रबार नै आधार शिविरमा ल्याइसकिएको थियो। बेपत्ता रहेका अन्य आरोहीहरूको खोजीका लागि ड्रोन र हेलिकप्टर परिचालन गरी उनीहरूको अवस्थिति पत्ता लगाइएको थियो।
आरोहण टोलीमा नेपालका निर्मल पुर्जासहित पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा र नवाङ थिन्डु शेर्पा रहेका थिए । त्यसैगरी ओमानका नधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ जोङ र अमेरिकाकी मालोरी गाइस रहेका थिए । निम्स दाइ संस्थापक रहेको संस्थाले शनिबार नै आरोहण टोलीका सबै १० जना सदस्यको मृत्यु भएको आधिकारिक घोषणा गरिसकेको छ।