काठमाडौं । नर्स तथा मिडवाइफहरूको न्यूनतम पारिश्रमिक, श्रम शोषण अन्त्यलगायत १५ बुँदे माग राख्दै आमरण अनशनमा बसेकी नर्स ज्योति रानाभाटको अनशन चौथो दिनमा पुगेको छ। स्वास्थ्य अवस्था कमजोर बन्दै जाँदा पनि मागप्रति सरकारले पर्याप्त चासो नदेखाएको भन्दै नर्सिङ क्षेत्रले असन्तुष्टि जनाएको छ।
वीर अस्पतालमा उपचाररत रानाभाटको रक्तचाप र रगतमा चिनीको मात्रा लगातार घटिरहेको चिकित्सकहरूले बताएका छन्। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि चिकित्सकहरूले उनलाई आईसीयूमा राख्न सुझाव दिएका भए पनि उनले अस्वीकार गरेको जनाइएको छ। साथै उनले औषधि सेवन गर्नसमेत नमानेको उनका सहयोगीहरूले बताएका छन्।
रानाभाटले स्वास्थ्य, शिक्षा, श्रम तथा अर्थ मन्त्रालयका प्रतिनिधि सहभागी हुने उच्चस्तरीय वार्ता टोलीसँग मात्रै छलफल गर्नुपर्ने अडान लिएकी छन्। स्वास्थ्य मन्त्रालयले गठन गरेको वार्ता टोलीसँग भएको छलफल भने निष्कर्षमा पुग्न सकेन। सरकार स्पष्ट कार्ययोजना बिना वार्तामा आएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेकी छन्।
यसैबीच, नेपाल नर्सिङ संघले सरकारलाई यसअघि भएका सहमति तत्काल कार्यान्वयन गर्न र अनशनरत रानाभाटको जीवनरक्षाका लागि प्रभावकारी पहल गर्न आग्रह गरेको छ। संघले नर्सहरूको तलब, सेवा–सुविधा, कार्य वातावरण र पेशागत सम्मान सुनिश्चित नगरे गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न कठिन हुने चेतावनी दिएको छ।
रानाभाटले सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत नर्स र मिडवाइफका लागि सरकारले तोकेकोभन्दा कम नहुने न्यूनतम पारिश्रमिक, सम्मानजनक सेवा–सर्त, पर्याप्त दरबन्दी, श्रम शोषणको अन्त्य, जोखिम भत्ता, सार्वजनिक बिदाको व्यवस्था तथा विभेदकारी कानुनी प्रावधान संशोधनलगायत १५ बुँदे माग तत्काल कार्यान्वयन गर्नुपर्ने माग राख्दै अनशन जारी राखेकी छन्।