नवलपरासी । पश्चिम नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
प्रहरीका अनुसार पाल्हीनन्दन गाउँपालिका–२ हरपुरमा भारतीय नम्बर प्लेटको यूपी ५७ बीपी ४१६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक भारतको उत्तर प्रदेशस्थित कुशीनगर जिल्ला, रामकोला गाउँका २५ वर्षीय विजय चौहानको भैरहवास्थित सिद्धार्थ सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकलमा पछाडि सवार भारतका २३ वर्षीय सतिस कुमार चमार र रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ निवासी ३६ वर्षीय कमल राना घाइते भएका छन्। उनीहरूको अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक निष्कर्ष निकालेको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।