सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिकामा जारी गरिएको कर्फ्यु आदेश हटाएको छ।
जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको समीक्षा गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम लागू गरिएको कर्फ्यु २०८३ साउन १७ गते साँझ ७ बजेदेखि हटाइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनामा उल्लेख छ।
प्रशासनका अनुसार क्षेत्रको सुरक्षा अवस्था सुधारोन्मुख देखिएपछि कर्फ्यु हटाउने निर्णय गरिएको हो।
यसअघि सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै गोलबजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको थियो। पछिल्लो अवस्थाको मूल्याङ्कनपछि सर्वसाधारणको जनजीवन सहज बनाउन कर्फ्यु हटाइएको प्रशासनले जनाएको छ।
यद्यपि, प्रशासनले सबै पक्षलाई शान्ति, सामाजिक सद्भाव र कानुनी व्यवस्थाको पालना गर्न आग्रह गर्दै कुनै पनि उत्तेजनात्मक गतिविधिमा संलग्न नहुन अनुरोध गरेको छ।
