बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा निर्माणाधीन अस्थायी बाँध भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले भत्काएको आरोप लागेपछि नेपाल–भारत सीमा क्षेत्रमा तनाव उत्पन्न भएको छ।
स्थानीयका अनुसार आइतबार दिउँसो करिब साढे ३ बजे सादा पोसाक र हतियारधारीसहित ठूलो संख्यामा एसएसबीका सुरक्षाकर्मी नेपाली भूमिमा प्रवेश गरेका थिए। उनीहरूले सुस्ता गाउँपालिका–५ को थारु टोलमा निर्माण भइरहेको करिब १३२ मिटर लामो माटोको अस्थायी बाँध भत्काएको स्थानीयको दाबी छ।
बाँध भत्काइएको घटनापछि स्थानीयवासीले विरोध जनाएका थिए। सुस्ता बचाउ युवा अभियानका संयोजक योगेन्द्र गौतमले एसएसबी दुई देशको सीमा मानिने सिमलको रुखबाट करिब ३०० मिटर नेपालतर्फ प्रवेश गरेर बाँध भत्काएको दाबी गरे।
स्थानीयले रोक्ने प्रयास गरे पनि सुरक्षाकर्मी हतियारसहित आएका कारण हस्तक्षेप गर्न नसकिएको र घटनास्थलमा केहीबेर विवाद भएको उनले बताए।
यसअघि पनि गत असारमा भारतीय सुरक्षाकर्मी सुस्ता क्षेत्रमा पुगेपछि बाँध निर्माणको काम रोकिएको स्थानीयले बताएका छन्।
सुस्ता क्षेत्र नेपाल–भारतबीच लामो समयदेखि विवादित सीमाका रूपमा चिनिँदै आएको छ। स्थानीयवासी मुन्ना खाँका अनुसार सीमा स्तम्भको अभाव, नारायणी नदीले बारम्बार धार परिवर्तन गर्नु तथा सीमाक्षेत्रमा हुने हस्तक्षेपका कारण त्यहाँ बेला–बेलामा यस्ता विवाद दोहोरिने गरेका छन्।
घटनापछि कुनै अप्रिय अवस्था सिर्जना हुन नदिन नेपाल सशस्त्र प्रहरी बल (एपीएफ) को टोली पनि घटनास्थलमा परिचालन गरिएको छ। घटनाबारे सम्बन्धित निकायले थप जानकारी संकलन गरिरहेको छ।