काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले सोमबार बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा बन्द भएको र केही सडकमा रातिको समयमा सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको जनाएको छ।
प्रहरीका अनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। यस्तै, कान्तिलोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिएको छ।
यता, इलाम नगरपालिका–९ अन्तर्गत मेची राजमार्गमा सडक हिलाम्मे भएपछि यातायात पूर्ण रूपमा ठप्प भएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्गको जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामासाँघु–रामेछाप सडकखण्डमा सामाकोशी खोलाले सडक कटान गरेपछि त्यहाँ पनि सवारी सञ्चालन बन्द भएको छ।
यसैगरी, रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले पासाङ ल्हामु राजमार्ग कटान गरेपछि उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। गोरखाको धार्चे गाउँपालिका–३ अन्डरडाँडामा पहिरो झर्दा लार्के–बेनीघाट कच्ची सडक पनि सञ्चालनमा आउन सकेको छैन।
प्रहरीले वर्षायाममा पहिरो, बाढी र सडक कटानको जोखिम अझै उच्च रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझ्न र आवश्यक सतर्कता अपनाउन सबै यात्रुलाई आग्रह गरेको छ।