जनकपुरधाम । संयुक्त हिन्दू मोर्चा र सरकारबीच आइतबार पुनः वार्ता भएको छ। जनकपुरस्थित यात्री निवासमा गृहमन्त्री सुधन गुरुङ र मोर्चाका प्रतिनिधिबीच भएको छलफलपछि थप विषय समेट्दै मौखिक रूपमा १८ बुँदे समझदारी बनेको बताइएको छ।
वार्ताका क्रममा मोर्चाले आफ्नो मागपत्र गृहमन्त्री गुरुङलाई बुझाएको थियो। धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार शनिबार राति भएको १३ बुँदे सहमतिका केही बुँदामा देखिएको अस्पष्टता हटाउने गरी आइतबारको छलफल केन्द्रित भएको थियो।
उनका अनुसार हस्ताक्षर, लेटरप्याड तथा अन्य प्रक्रियागत विषयमा उठेका जिज्ञासालाई गृहमन्त्रीले स्पष्ट पारेपछि दुवै पक्ष सन्तुष्ट बनेका छन्। त्यससँगै आन्दोलनका कार्यक्रम पनि फिर्ता लिने समझदारी भएको उनले जानकारी दिए।
वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै हिन्दू सम्राट सेनाका केन्द्रीय उपाध्यक्ष कृष्ण सनातनीले केही बुँदामा संशोधन गरिएको र सरकारले मागहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाएको बताए। उनले गृहमन्त्रीले भविष्यमा यस्ता घटनामा बल प्रयोग नगर्ने प्रतिबद्धता व्यक्त गरेको दाबी पनि गरे।
यसअघि शनिबार राति सरकारलाई बुझाइएको १३ बुँदे मागपत्रमा पहिलो बुँदामा नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्ने माग तथा अन्तिम बुँदामा सहमति भए आन्दोलनका कार्यक्रम फिर्ता लिने उल्लेख गरिएको थियो। आइतबारको छलफलपछि केही थप विषय समेट्दै सहमतिलाई १८ बुँदासम्म विस्तार गरिएको जनाइएको छ।