सप्तरी । सप्तरीको राजविराज र बोदेबरसाईन नगरपालिका क्षेत्रमा लागू गरिएको अनिश्चितकालीन कर्फ्यू हटाइएको छ। सुरक्षा अवस्थाको समीक्षा गरेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू हटाउने निर्णय गरेको हो।
यद्यपि, जिल्लामा शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले निषेधाज्ञा भने कायम रहने प्रशासनले जनाएको छ।
जिल्लाका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) अनुसार निषेधाज्ञा जारी गरिएको छ। यस अवधिमा पाँच जना वा सोभन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन, सभा, जुलुस वा प्रदर्शन गर्न निषेध गरिएको छ।
यसअघि प्रशासनले बोदेबरसाईन नगरपालिका क्षेत्रमा गत बिहीबार राति १० बजेदेखि तथा राजविराज नगरपालिका क्षेत्रमा शुक्रबार बिहान ८ बजेदेखि अनिश्चितकालीन कर्फ्यू लागू गरेको थियो।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि दुई समुदायबीच उत्पन्न तनावको असर नियन्त्रणमा राख्न र जिल्लामा शान्तिपूर्ण वातावरण कायम गर्न निषेधाज्ञा जारी राखिएको प्रशासनको भनाइ छ।
जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई संयमता अपनाउन, कानुनको पूर्ण पालना गर्न तथा अफवाह फैलाउने वा सामाजिक तथा धार्मिक सद्भावमा असर पुग्ने कुनै पनि गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ।