काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली पर्वतारोही निर्मल ‘निम्स दाइ’ पुर्जासहित सबै आरोहीप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत समवेदना व्यक्त गर्दै थापाले निर्मल पुर्जासँगको आफ्नो पुरानो सम्बन्ध स्मरण गरेका छन्। उनले ‘प्रोजेक्ट पोसिबल’मार्फत विश्वभर परिचित हुनुअघि नै पुर्जासँग आफ्नो चिनजान रहेको उल्लेख गर्दै अन्तिम क्षणसम्म उनी सबै कठिनाइ पार गरेर सुरक्षित फर्किने विश्वास आफूमा रहेको बताएका छन्।
थापाले निर्मल पुर्जाको सबैभन्दा ठूलो योगदान कीर्तिमान कायम गर्नु मात्र नभई नेपाली पर्वतारोहीप्रति विश्व समुदायको दृष्टिकोण परिवर्तन गर्नु रहेको बताएका छन्। उनका अनुसार पुर्जाले नेपाली पर्वतारोही विदेशी अभियानका सहयोगी मात्र नभई नेतृत्व गर्न, नयाँ इतिहास रच्न र पर्वतारोहणको भविष्यलाई दिशा दिन सक्षम रहेको तथ्य विश्वसामु स्थापित गरेका छन्।
उनले निर्मल पुर्जासँगै ज्यान गुमाएका पुरबहादुर ‘युक्ता’ गुरुङ, किली पेम्बा ‘किलु’ शेर्पा, नीमा शेर्पा, नावाङ थिन्डु शेर्पा, ग्यालु शेर्पा, सोहेल साखी, म्यालोरी गाइस, नधिरा अल हार्थी र वाङ झोङलाई पनि श्रद्धाञ्जली अर्पण गरेका छन्।
थापाले प्रत्येक आरोहीको नामसँग साहस, त्याग, सपना र आफ्ना प्रियजनको प्रतीक्षामा रहेको एउटा परिवार जोडिएको उल्लेख गर्दै शोकसन्तप्त परिवार, साथीभाइ तथा सम्पूर्ण पर्वतारोहण समुदायप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।