काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदबाट हटाउने तयारीमा सक्रिय भएका छन्।
यसअघि कार्कीलाई मुख्यमन्त्रीमा निरन्तरता दिने सहमति भए पनि त्यसबाट ओली पछि हटेको पार्टी स्रोतले जनाएको छ। स्रोतका अनुसार अध्यक्ष ओली, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलबीच भएको छलफलमा कोशीमा कार्कीलाई यथावत् राख्ने समझदारी बनेको थियो। तर पछिल्लो समय ओलीले आफ्नो धारणा परिवर्तन गर्दै नेतृत्व परिवर्तनको पहल थालेका हुन्।
यसका लागि कोशी प्रदेश इन्चार्ज तथा पार्टी सचिव शेरधन राईलाई जिम्मेवारी दिइएको बताइएको छ। पार्टीका एक नेताका अनुसार राई दुई दिनदेखि विराटनगरमै बसेर प्रदेश नेतृत्वसँग छलफलमा व्यस्त छन्। उनले मुख्यमन्त्री कार्कीसँग लामो भेटवार्ता गर्दै अध्यक्ष ओलीको सन्देश सुनाएका थिए।
स्रोतका अनुसार उक्त भेटमा राईले कार्कीलाई राजीनामा दिन अध्यक्षको चाहना रहेको बताएका थिए। तर कार्कीले तत्काल पद छाड्न अस्वीकार गरेका छन्।
कार्कीले आफू संविधानको धारा १६८ (५) अनुसार अन्तिम संवैधानिक विकल्पका रूपमा मुख्यमन्त्री बनेको उल्लेख गर्दै अहिले राजीनामा दिए प्रदेशमा संवैधानिक जटिलता उत्पन्न हुन सक्ने धारणा राखेका छन्। साथै यस्ता विषयमा पार्टी सचिवालयबाट औपचारिक निर्णय हुनुपर्ने अडान पनि उनले राखेको बताइएको छ।
पार्टीभित्र चलिरहेको पुनर्गठन अभियानमा कार्की सक्रिय देखिएपछि उनलाई नेतृत्वबाट हटाउने निष्कर्षमा ओली पुगेको स्रोतको दाबी छ। यसअघि कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल पदबाट हटिसकेका छन् भने लुम्बिनी र कोशीमा पनि नेतृत्व परिवर्तनको चर्चा चलिरहेको छ।
यद्यपि एमालेका केही शीर्ष नेताहरू भने हालका मुख्यमन्त्रीलाई नचलाउने पक्षमा छन्। उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेललगायत नेताहरूले राजनीतिक स्थायित्व र संवैधानिक अवस्थालाई ध्यानमा राखेर नेतृत्व परिवर्तन नगर्न सुझाव दिएको स्रोतको भनाइ छ।
उच्च स्रोतका अनुसार ओलीले कोशी प्रदेशका सांसदहरूसँग प्रत्यक्ष सम्पर्क पनि बढाएका छन्। यदि कार्कीले स्वेच्छिक रूपमा राजीनामा नदिए संसदीय बहुमत जुटाएर नेतृत्व परिवर्तन गर्ने विकल्पमा एमाले नेतृत्व अघि बढिरहेको स्रोतको दाबी छ।