काठमाडौं । पाकिस्तानको कराकोरम हिमशृङ्खलास्थित ब्रड पिकमा हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोही निर्मल पुर्जासहित अन्य आरोहीहरूको शव सुरक्षित स्थानमा ल्याउने तयारी भइरहेको छ। उद्धारमा संलग्न टोलीले पहिलो चरणमा शवहरू क्याम्प–१ सम्म झार्ने तयारी गरेको जनाएको छ।
ग्राउन्ड उद्धार टोलीका अनुसार क्याम्प–१ सम्म शव पुर्याएपछि सोमबार जापानी क्याम्पतर्फ लैजाने योजना बनाइएको छ। मौसम अनुकूल रहे र हिमालको अवस्था सुरक्षित भए त्यहाँबाट हेलिकप्टर प्रयोग गरी शव तथा उद्धारकर्मीलाई थप सुरक्षित स्थानमा स्थानान्तरण गरिनेछ।
उद्धार टोलीले दिवंगत आरोहीहरूको शव सम्मानपूर्वक स्वदेश फर्काउने लक्ष्यका साथ अभियान अघि बढिरहेको जनाएको छ।
गत बिहीबार (साउन १४) दिउँसो करिब पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रड पिक क्षेत्रमा हिमपहिरो जाँदा १० जना आरोही सम्पर्कविहीन भएका थिए। उनीहरूमध्ये ६ जना नेपाली थिए। टोलीको नेतृत्व गरिरहेका निर्मल पुर्जाको मृत्यु भएको पुष्टि शनिबार भएको थियो।
उद्धार कार्य अझै जारी रहेकाले अन्य बेपत्ता आरोहीहरूको खोजी पनि निरन्तर भइरहेको जनाइएको छ।