काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले सुनसरीको कप्तानगञ्जसहित तनाव प्रभावित क्षेत्रमा शान्ति–सुरक्षाको सुनिश्चितता गर्न सरकार र स्थानीय प्रशासनसँग आग्रह गरेको छ।
बिहीबार जारी गरिएको प्रेस विज्ञप्तिमा महासंघले तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित तनावपूर्ण अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै स्थायी शान्ति कायम गर्न सबै पक्षलाई जिम्मेवार भूमिका खेल्न आह्वान गरेको हो। महासंघले राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा, सञ्चारमाध्यम तथा स्थानीय नेतृत्वलाई संयमता अपनाउँदै सामाजिक सद्भाव कायम गर्न सकारात्मक पहल गर्न आग्रह गरेको छ।
विज्ञप्तिमा सुनसरीको कप्तानगञ्जलगायत तराईका विभिन्न स्थानमा भएका घटनाक्रमले सर्वसाधारणमा असुरक्षाको भावना बढाएको उल्लेख गर्दै उत्पन्न मतभेद र विवादको समाधान संवाद, वार्ता र आपसी समझदारीमार्फत खोजिनुपर्नेमा जोड दिइएको छ। नेपाल विविध जातजाति, भाषा, धर्म र संस्कृतिको साझा थलो भएको उल्लेख गर्दै महासंघले विशेषगरी तराई–मधेश सामाजिक सद्भाव, सहिष्णुता र सहअस्तित्वको उदाहरणका रूपमा परिचित रहेको जनाएको छ। कुनै पनि प्रकारको हिंसा, झडप वा सामाजिक अस्थिरताले कसैको हित नगर्ने भन्दै यस्ता घटनाबाट सामाजिक एकता कमजोर हुनुका साथै जनजीवन, उद्योग–व्यवसाय, व्यापार तथा समग्र आर्थिक गतिविधिमा प्रतिकूल असर पर्ने महासंघको भनाइ छ। महासंघले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।