काठमाडौँ । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरी (कुर्मी) र तत्कालीन एमआईएस अपरेटर सुरेश कहाँरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा भ्रष्टाचारको आरोपपत्र दायर गरेको छ।
गाउँपालिकाको स्वीकृत कार्यक्रमको पेस्की रकमबाट ५ लाख रूपैयाँ घुस लिएको पुष्टि भएपछि आयोगले बिहीबार दुवैजना विरुद्ध मुद्दा दायर गरेको हो।
अख्तियारका अनुसार आर्थिक वर्ष २०७९÷८० को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गतको “न्यायिक असमानता विरुद्ध उपाध्यक्ष कार्यक्रम“ सञ्चालन गर्ने जिम्मेवारी तत्कालीन एमआईएस अपरेटर सुरेश कहाँरलाई दिइएको थियो।
कहाँरले गाउँपालिकासँग सम्झौता गरी कार्यक्रम सञ्चालनका लागि ६ लाख रूपैयाँ पेस्की रकम लिएका थिए। उक्त रकम खातामा आउनासाथ कहाँरले ५ लाख रूपैयाँको चेक कार्यालय सहयोगीको नाममा काटी उपाध्यक्ष होम प्रकाश चौधरीको बैङ्क खातामा जम्मा गराएको अनुसन्धानबाट खुलेको छ।
कार्यक्रममा कुनै खर्च नगरी पेस्की रकमबाट ५ लाख रूपैयाँ उपाध्यक्ष चौधरीको खातामा स्थानान्तरण गरी एकआपसमा मोलाहिजा गरेर घुसबापत लेनदेन गरेको पुष्टि भएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।