काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जलगायत क्षेत्रमा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सबैसँग अपिल गरेका छन्।
बिहीबार जारी गरेको अपिलमा राष्ट्रपति पौडेलले नेपाल सामाजिक, धार्मिक र जातीय सहिष्णुता, मेलमिलाप तथा भ्रातृत्वको लामो परम्पराले परिचित मुलुक भएको उल्लेख गर्दै यही मूल्य र मान्यतालाई कायम राख्नु सबैको साझा दायित्व भएको बताएका छन्। उनले शान्ति, अमनचयन र सुव्यवस्था कायम राख्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपालीलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।
राष्ट्रपति पौडेलले वर्तमान परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउँदै नागरिकले सुरक्षित र शान्तिपूर्ण वातावरणमा जीवनयापन गर्न सक्ने अवस्था सिर्जना गर्न सरकार सक्रिय रहने विश्वास पनि व्यक्त गरेका छन्। साथै, वर्तमान अवस्थालाई थप जटिल बन्न नदिन समुदायबीच एकता, सद्भाव, मित्रता र सहिष्णुता कायम राख्न सबै पक्षलाई संयमता अपनाउन उनले आग्रह गरेका छन्। राष्ट्रपतिले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।