धरान । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर गम्भीर घाइते भएका एक युवकलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत धरान ल्याइएको छ।
गोलबजारमा दुई पक्षबिच भएको झडप र प्रदर्शनका क्रममा गोली लागेर घाइते भएका सुभाष ठाकुरलाई प्राथमिक उपचारपश्चात् तत्काल सेनाको हेलिकप्टर प्रयोग गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएको हो।
स्थानीय अस्पतालमा प्राथमिक उपचार गरिए तापनि घाइते ठाकुरको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि र सडक मार्गबाट लैजान सुरक्षा संवेदनशीलता रहेकाले नेपाली सेनाको हेलिकप्टरमार्फत धरान रिफर गरिएको प्रशासनले जनाएको छ।
सोही घटनामा गोली लागेका अर्का युवक गणेश यादवको भने उपचारका क्रममा निधन भइसकेको छ। घटनापछि गोलबजार र आसपासका क्षेत्रमा तनाव बढेकाले स्थानीय प्रशासनले कफ्यु आदेश जारी गर्दै सुरक्षा व्यवस्था कडा बनाएको छ।