काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुनसरी र सिरहामा भएका घटनाप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल हिंसा रोक्न सरकारसँग आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा केही दिनदेखि उत्पन्न तनाव, राज्य पक्षबाट भएको बल प्रयोग तथा त्यसक्रममा स्थानीय युवा ओमप्रकाश मेहताको मृत्यु भएको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। त्यसैगरी, सिरहामा गणेश यादवको गोली लागेर मृत्यु भएको तथा अन्य नागरिकहरू घाइते भएको घटनाले आफूलाई स्तब्ध र मर्माहत बनाएको ओलीले उल्लेख गरेका छन्। उनले घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। ओलीले पछिल्ला घटनाक्रमलाई लिएर नागरिक, राजनीतिक दल, नागरिक समाज तथा सञ्चारकर्मीलाई संयमता अपनाउन आग्रह गरेका छन्। भ्रामक प्रचारको पछि नलागी सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सक्रिय हुनुपर्ने उनको भनाइ छ।
सरकारले नागरिकको जीउधनको रक्षा गर्नुका साथै संवादमार्फत समस्याको समाधान खोज्नुपर्ने ओलीले बताएका छन्। राष्ट्रिय सुरक्षा र सामाजिक सुव्यवस्था संवेदनशील अवस्थामा पुग्दासमेत सरकारको उदासीनता, अत्यधिक बल प्रयोग र मौनता आपत्तिजनक भएको उनको आरोप छ। हिंसात्मक कदम तत्काल रोक्दै संवादमार्फत समस्याको समाधान खोज्न सरकारलाई आग्रह गर्दै ओलीले विषम परिस्थितिमा प्रमुख राजनीतिक दलहरूले आपसी प्रतिस्पर्धा र आरोप–प्रत्यारोपभन्दा माथि उठेर शान्ति, सुरक्षा र स्थायित्वका लागि सहकार्य गर्नुपर्ने बताएका छन्। द्वन्द्व र हिंसाबाट समस्याको समाधान नहुने भन्दै उनले संवाद, सहमति र जिम्मेवार सहकार्यबाट मात्रै वर्तमान जटिल परिस्थितिबाट निकास खोज्न सकिने बताएका छन्। राष्ट्रिय हित, शान्ति र सामाजिक सद्भावका लागि राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा विभिन्न धार्मिक र सामाजिक समुदायका अगुवाहरू एकजुट हुनुपर्नेमा पनि ओलीले जोड दिएका छन्।