काठमाडौं । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य रहेका, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बञ्चरेडाँडा फोहोर व्यवस्थापन स्थलमा देखिएका चुनौती तथा स्थानीयले भोग्नुपरेका समस्या समाधानबारे सम्बन्धित निकायसँग छलफल गरेका छन् ।
आज सञ्चार मन्त्रालयमा आयोजित छलफलमा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, महानगरको वातावरण विभाग प्रमुख सरिता राई, सहरी विकास तथा भवन निर्माण विभागका सिनियर डिभिजनल इन्जिनियर रुपक आचार्य तथा ककनी गाउँपालिकाका स्थानीय प्रतिनिधि सहभागी थिए ।
छलफलपछि सञ्चारमन्त्री तिमिल्सिनाले फोहोर व्यवस्थापनमा प्रभावकारी अनुगमन, स्थानीयवासीका गुनासोको सुनुवाइ, सडक पूर्वाधार सुधार तथा वैज्ञानिक ढङ्गबाट फोहोर व्यवस्थापन गर्न निर्देशन दिए । साथै फोहोर व्यवस्थापन बारे स्थानीयले उठाउँदै आएका गुनासालाई गम्भीर रूपमा लिनुपर्ने बताए ।
स्थानीयवासीले बञ्चरेडाँडा फोहोर बिसर्जनस्थलसम्म पुग्ने सडक अत्यन्तै जीर्ण रहेको, फोहोरबाट दुर्गन्ध फैलिएको, फोहोर बोकेका सवारीसाधन नछोपेरै सञ्चालन भएको, बीच बाटोमै फोहोर खसाल्ने, फोहोर विसर्जनपछि गाडी नधोई उपत्यकातर्फ फर्काइने तथा फोहोरमाथि पर्याप्त मात्रामा माटोले छोप्ने (क्यापिङ) कार्यमा लापरवाही भइरहेको गुनासो गर्दै आएका छन् ।
सञ्चारमन्त्री तिमिल्सिनाले स्थानीयका यी गुनासा सम्बोधनका लागि सम्बन्धित निकायलाई बोलाएर छलफल गरेका छन् ।बञ्चरेडाँडामा काठमाडौं महानगरपालिकाबाहेक अन्य २० वटा स्थानीय तहबाट समेत फोहोर ल्याइने भए पनि ती स्थानीय तहलाई व्यवस्थापनको जिम्मेवारीमा प्रभावकारी रूपमा सहभागी गराउन नसकिएको विषय उठाइएको छ । हाल बन्चरेडाँडाको सञ्चालन तथा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी र आर्थिक भार काठमाडौं महानगरपालिकाले व्यहोर्दै आएको छ ।