कालीकोट । कर्णाली राजमार्गको कालीकोट–जुम्ला सडकखण्डअन्तर्गत सेराबाडामा सुक्खा पहिरो खस्दा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ।
कालीकोटको खाँडाचक्र नगरपालिका–८ स्थित सेराबाडामा माथिबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले जानकारी दिएका छन् ।
पहिरोसँगै ठुला–ठुला चट्टान र ढुङ्गाहरू झरेकाले साना मेसिनले पन्छाउन सम्भव नभएपछि सडक डिभिजन कार्यालय जुम्लासँग समन्वय गरी ठुलो स्काभेटर÷एक्साभेटर माग गरिएको छ।
प्रमुख जिल्ला अधिकारी भट्टराईका अनुसार टिमुरे भिरमा रहेको सडक डिभिजनको एक्साभेटर पहिरोस्थलतर्फ पठाइएको छ। पहिरो पन्छाएर जतिसक्दो चाँडो यातायात सञ्चालनमा ल्याउनका लागि टोली खटिसकेको उनले बताएका छन् । सडक अवरुद्ध हुँदा जुम्ला र कालीकोटबाट आउजाउ गर्ने यात्रु तथा सवारीसाधनहरू बाटोमै रोकिएका छन्।