काठमाडौँ । सङ्गीतकार तथा निर्देशक टङ्क बुढाथोकीको निर्देशनमा निर्माण हुन लागेको नेपाली कथानक चलचित्र ‘मन बिनाको धन–२’ मा चर्चित सेलिब्रेटी हेयरस्टाइलिस्ट राम ठाकुर जोडिएका छन्। निर्देशक बुढाथोकीले हेयरस्टाइलिस्टका रूपमा रामलाई स्वागत गर्दै औपचारिक सम्झौता गरेका हुन्।
लामो समयदेखि आफ्ना विभिन्न म्युजिक भिडियो तथा फिल्महरूमा रामले हेयर स्टाइलिङ विभागको सफलतापूर्वक नेतृत्व गर्दै आएको बताउँदै निर्देशक बुढाथोकीले यस चलचित्रमा उनले हेयर स्टाइलिङका साथै अभिनय समेत गर्ने जानकारी दिएका छन्।
राम ठाकुर लामो समयदेखि नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल र सुपरस्टार निखिल उप्रेतीको आधिकारिक हेयरस्टाइलिस्टका रूपमा परिचित छन्। उनले यी दुवै दिग्गज अभिनेताहरूसँग विगत दुई दशकभन्दा बढी समयदेखि काम गर्दै आएका छन्।
यसका साथै उनले स्वदेशी तथा विदेशी थुप्रै चर्चित कलाकारहरूको हेयर तथा मेकअप विभागमा रहेर काम गरिसकेका छन्। हाल उनले काठमाडौँको कोटेश्वरमा दुईवटा आउटलेट सञ्चालन गरी सर्वसाधारणलाई समेत सेवा प्रदान गर्दै आएका छन्।
टङ्क बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यस फिल्मलाई विष्णुमाया मैनाली बुढाथोकीले निर्माण गर्दैछिन्। फिल्मको कथा स्वयं निर्देशक बुढाथोकीले तयार पारेका हुन् भने पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्।
फिल्ममा सरोज खनाल, गौरी मल्ल, विपिन कार्की, पूजा शर्मा, महेश त्रिपाठी, किरण केसी, प्रकाश घिमिरे, र शंकर श्रेष्ठलगायतका कलाकारहरूको मुख्य अभिनय रहनेछ। निर्माण टोलीका अनुसार भदौको पहिलो सातादेखि काठमाडौँ उपत्यका तथा मुस्ताङका विभिन्न रमणीय स्थानहरूमा फिल्मको मुख्य छायाङ्कन सुरु गरिनेछ।