काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण र तोडफोडको विरोधमा देशभरका चिकित्सकहरू आन्दोलित भएका छन्। नेपाल चिकित्सक सङ्घको आह्वानमा बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरी चिकित्सकहरू सडकमा उत्रिएका हुन्।
आन्दोलनकै क्रममा काठमाडौँको माइतीघर मण्डलमा भेला भई चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन्। नारायणी अस्पतालमा घटना घटेको पाँच दिन बितिसक्दा समेत दोषीहरूलाई पक्राउ गरी कानुनी कारबाही गर्न सरकारले उदासीनता देखाएको चिकित्सकहरूको आरोप छ।
नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. बद्री रिजालले दोषीमाथि कारबाहीको माग गर्दै न्याय माग्न जाँदा उल्टै दुव्र्यवहार भोग्नुपरेको गुनासो गर्नुभयो। उहाँले राज्यले चिकित्सकहरूको जीउधनको सुरक्षाको ग्यारेन्टी नगरेसम्म कार्यक्षेत्रमा फर्कन नसकिने स्पष्ट पारेका छन् ।
अध्यक्ष डा. रिजालका अनुसार सरकारले आफूहरूका माग तत्काल सम्बोधन गरेर चिकित्सकलाई सुरक्षित रूपमा काम गर्ने वातावरण बनाएको खण्डमा आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू तुरुन्तै फिर्ता लिइनेछ। चिकित्सकहरूको हडतालका कारण देशभरका प्रमुख अस्पतालहरूमा उपचारका लागि पुगेका सर्वसाधारण तथा बिरामीहरू भने मर्कामा परेका छन्।