काठमाडौँ । राष्ट्रिय खिर दिवसका अवसरमा मनाइने साउन १५ गते देशभर करिब १ अर्ब रुपैयाँभन्दा बढीको दूध तथा दुग्धजन्य पदार्थको कारोबार हुने अनुमान गरिएको छ।
नेपाल डेरी एसोसिएसनले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै साउन १५ मा खिर खाने परम्पराका कारण दूधको खपत ह्वात्तै बढ्ने र यसले मुलुकको अर्थतन्त्रमा ठुलो आर्थिक कारोबार सिर्जना गर्ने जनाएको हो।
एसोसिएसनका अनुसार यस वर्ष साउन १५ का दिन देशभर करिब १ करोड लिटर दूध खपत हुने अनुमान गरिएको छ। उक्त परिमाणको दूध र त्यससँग सम्बन्धित सामग्रीहरूको प्रयोगबाट १ अर्बभन्दा बढीको कारोबार भई दूध उत्पादक किसान, डेरी उद्योगी तथा समग्र राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
राष्ट्रिय दुग्ध विकास बोर्डको २०७७ साल फागुन १५ गतेको निर्णयअनुसार हरेक वर्ष साउन १५ लाई राष्ट्रिय खिर दिवसका रूपमा मनाइँदै आइएको छ। यस वर्ष नेपाल डेरी एसोसिएसनले ‘खिरको परिकार, किसानको सम्मान, डेरी उद्योगको स्वाभिमान, नेपाली संस्कृतिको पहिचान’ भन्ने मूल नाराका साथ विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरू आयोजना गर्ने जनाएको छ।
एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालद्वारा जारी विज्ञप्तिअनुसार साउन १५ मा काठमाडौँको नयाँ बानेश्वरस्थित मौलिक भान्छा घरको सहकार्यमा केन्द्रीय खिर प्रवद्र्धन कार्यक्रम आयोजना गरिनेछ। सो कार्यक्रमका साथै एसोसिएसनका प्रदेश तथा जिल्ला समितिहरूले पनि आ–आफ्नो क्षेत्रमा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नेछन्।
नेपालमा असारभर धान रोपाइँ सकेर थकान मेट्ने र खुसी साटासाट गर्ने अवसरका रूपमा साउन १५ मा खिर खाने परम्परा रहँदै आएको छ। पोषणका दृष्टिले ऊर्जा, प्रोटिन, क्याल्सियम र भिटामिनयुक्त खिरले नेपाली मौलिक खानाको संरक्षण गर्नुका साथै स्वदेशी दूधको खपत बढाएर ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन ठुलो सहयोग पु¥याउने सरोकारवालाहरूको भनाइ छ।