कपिलवस्तु । कपिलवस्तुको महाराजगन्ज नगरपालिका–१ गैडहवामा तीव्र गतिमा रहेको ट्रकले ठक्कर दिँदा तीन जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार ना ५ ख २३६४ नम्बरको ट्रकले अनियन्त्रित भई मोटरसाइकल, साइकल र बाटोमा हिँडिरहेका पैदल यात्रीलाई एकापसमा ठक्कर दिँदा सो दुर्घटना भएको हो।
दुर्घटनालगत्तै गम्भीर घाइते भएका चारै जनालाई तत्काल उपचारका लागि कपिलवस्तु अस्पताल तौलिहवा लगिएको थियो। तर, अस्पताल पु¥याउनासाथ चिकित्सकहरूले तीन जनालाई मृत घोषणा गरेका थिए। घाइते एक जनाको भने सोही अस्पतालमा उपचार भइरहेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालका अनुसार दुर्घटनामा परी ज्यान गुमाउनेहरूमा दुई जना साइकल यात्री र एक जना पैदल यात्री रहेका छन्। ठक्कर दिने ट्रक र चालकबारे प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरिसकेको छ।