काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली कांग्रेसका दिवंगत वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
सर्वदलीय बैठकमा सहभागी भएपछि लामिछाने सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालय पुगेका थिए। त्यहाँ पुगेर उनले श्रेष्ठको पार्थिव शरीरमा श्रद्धासुमन अर्पण गर्दै परिवारजन तथा कांग्रेस नेताहरूप्रति समवेदना व्यक्त गरेका हुन्।
मंगलबार निधन भएका श्रेष्ठको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि कांग्रेस केन्द्रीय कार्यालयमा राखिएको छ। सो क्रममा कांग्रेस सभापति गगन थापाले पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरेका छन्।
श्रेष्ठको आजै अन्त्येष्टि गर्ने कार्यक्रम तय गरिएको छ। ८३ वर्षको उमेरमा उनको मंगलबार जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।
कांग्रेस सभापति गगन थापाले गत ७ साउनमा श्रेष्ठलाई पार्टीको वरिष्ठ नेताको जिम्मेवारी प्रदान गरिएको घोषणा गरेका थिए।