काठमाडौँ । सिंहदरबारमा निर्माणधीन संसद् भवनको भौतिक प्रगति ९६ प्रतिशत पुगिसक्यो । दुई महिनाअघि नै निर्माणको म्याद पनि सकिसक्यो ।
पछिल्लो पटक थप गरिएको म्यादमा पनि सम्पन्न हुन नसकेपछि पुनः म्याद थप गर्ने तयारी भइरहेकोे सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक एवं प्रवक्ता तथा विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना निर्देशक रोशन श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार पछिल्लो पटक (छैटौँ पटक) थपिएको ९० दिनको म्याद समेत गुज्रिएपछि अब सार्वजनिक खरिद नियमावलीको १५औँ संशोधनलाई टेकेर सातौँ पटक म्याद थप्ने तयारी भइरहेको हो ।सिभिल वर्कका लागि थपिएको म्याद जेठ ९ गते र इन्टेरियरको जेठ १५ गते नै म्याद सकिइसकेको थियो । त्यसयता म्याद थपका लागि निर्माण व्यवसायीले निवेदन दिइसकेका छन् ।
गत असार १ गते निरीक्षणका लागि संसद भवन पुगेका सभामुख डीपी अर्यालले निर्माण कार्य थप लम्बिए दैनिक एक करोड रुपैयाँ जरिवाना तिराउनुपर्ने चेतावनीसमेत दिएका थिए । तर कुनै जरिवाना नतिराएरै म्याद थपको तयारी भइरहेको छ ।